काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक विवाद समाधान गर्ने सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यमा जुुटेका छन् ।
साउन १३ यता रोकिएको स्थायी कमिटी बैठक भदौै २६ गते पुनः बस्ने तय भएसँगै ओली–प्रचण्ड विवाद समाधान गर्ने उपायसहितको संयुक्त प्रस्तावकोे गृहकार्यमा लागेका हुन् । त्यसका लागि उनीहरुबीच सोमबार बिहान बालुवाटारमा झण्डै डेढ घण्टा गोप्य भेटवार्ता भएको थियो ।
सोमबार ओली प्रचण्डको भेटवार्तापछि २६ गतेलाई स्थायी समिति बैठक बोलाइएको हो । त्यस्तै बुधबार दुई अध्यक्षबीच पुनः भेटवार्ता गरेर प्रस्तावलाई अन्तिम रूप दिने तयारी गरेको दुवै नेता निकट स्रोतले जनाएका छन् । दुवै नेताले प्रस्तावको मोडलबारे आफ्नो सचिवालयका सदस्यहरुलाई समेत जानकारी दिएका छैनन् ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बसेपछि मात्रै प्रस्ताव कस्तो आउँछ भन्ने थाहा हुने प्रतिक्रिया दिए । उनले बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता हुनसक्ने भए पनि समय निश्चित भइनसकेको जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेलले दुई अध्यक्षले पेश गर्ने प्रस्ताव अहिले उहाँहरुबाहेक अरू कसैलाई थाहा नहुने भन्दै बैठक बसेपछि मात्रै सबै कुरा थाहा हुने बताए ।
यद्यपि पौडेलले दुवै अध्यक्ष सोमबारबाटै स्थायी कमिटीमा पेस गर्ने प्रस्ताव तयार पार्न आन्तरिक गृहकार्यमा लागेको जनाए ।‘अध्यक्षद्वयले तयार पार्ने प्रस्ताव कस्तो हुन्छ, त्यो त अहिले नै हामीलाई थाहा हुने कुरा भएन । तर उहाँहरु प्रस्ताव तयार गर्न सोमबारबाटै आन्तरिक गृहकार्यमा जुट्नुभएको छ’, महासचिव पौडेलको भनाइ छ ।रातोपाटीवाट