कोरोना संक्रमण रोकथाम : भारतीय नागरिकलाई रोक्ने, कैदीको संख्या घटाउने गृहकार्य

काठमाडौं : सरकारले कोरोना (कोभिड १९) भाइरस प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ। भारतीय नागरिक भने बिहीबारसम्म निर्वाध रुपमा नेपाल प्रवेश गरिराखेका छन्।

भारतमा कोरोना संक्रमणले तीनजनाको मृत्यु भइसकेको छ भने १७० जना संक्रमित भइसकेका छन्। हवाई र सडक र पैदलमाध्यमबाट हजारौंको संख्यामा नेपाल प्रवेश गरिरहेका छन्।

अध्यागमन स्रोतका अनुसार देशमा कोरोना संक्रमण फैलिएपछि नेपाल प्रवेश गर्ने भारतीय नागरिकको संख्या बढेको छ। यसलाई रोक्ने विषयमा बिहीबार छलफल भएको हो।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा भारतीय नागरिकलाई तत्कालका लागि कसरी रोक्ने भन्ने विषयमा छलफल भएको हो।

बैठकको प्रमुख एजेण्डा नै कोरोना भाइरसको वस्तुस्थिति, पूर्वतयारी तथा प्रतिकार्य योजना थियो। एजेण्डामाथि छलफल गर्दै बैठकमा भारतीय नागरिकलाई रोक्ने विषयमा छलफल भएको हो।निर्णय भने केही नभएको गृह स्रोतले बताएको छ।

त्यसैगरी बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तयारीको विषयमासमेत छलफल भएको छ। सँगै कोरोना संक्रमण विश्वव्यापी बनिरहेका बेला सरकारले उच्च सर्तकता अपनाएको छ।

सँगै सरकारले कोरोना संक्रमण नियन्त्रणका निम्ति कारागारबाट कैदीको संख्या घटाउने विषयमासमेत छलफल सुरु गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समिति बैठकले कैदीको संख्या घटाउन सरकारलाई निर्देशन दिए लगत्तै यो विषयमासमेत छलफल सुरु भएको हो।

कारागारमा कोरोना संक्रमण भएमा जटिल अवस्था सिर्जना हुने भन्दै संख्या घटाउन समितिले सरकारलाई निर्देशन दिएको हो। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले त्यहाँबाट संक्रमणको जोखिम भएमा खतरा हुने भन्दै समितिले यस्तो निर्देशन दिएको हो। यस विषयमा गृहमन्त्रालयमा सामान्य छलफल भएको तर केही निर्णय नभएको स्रोतको दाबी छ।

सरकारले बुधबार नै कोरोना भाइरसको संक्रमण रोकथामका लागि ‘लक डाउन’को पूर्वअभ्यास गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले स्कुल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उडानमार्फत हुने आगमनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

बिहीबारदेखि सुरु हुन लागेको माद्यामिक शिक्षा परीक्षासमेत स्थगित भएको छ। एसईई स्थगित भएसँगै चार लाख ८२ हजार परीक्षार्थी प्रभावित भएका छन्।

एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो।  चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो। एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो।

सरकारले  कोरोना फैलिन नदिन अत्यावश्यक कामका बाहेक आवतजावत गर्न रोक लगाएको छ। बुधबार सरकारले अत्यावश्यक हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार अब सार्वजनिकस्थलमा २५ जना भन्दा बढी मानिस भेला नपाइने भएको छ। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिकस्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द गरेको हो। यसको अनुगमन कार्य बिहीबारबाट गृहमन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  सुरु गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार