काठमाडौं । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिन उच्च सावधानी अपनाएको सरकारले संसदलाई जानकारी गराएको छ ।कोरोना संक्रमण १ सय ५२ राष्ट्रमा फैलिएको र ४६ राष्ट्रका मानिसको मृत्यु भएको भन्दै सरकारले नेपालमा भने अहिलेसम्म ४ सय ६४ जनाको परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्वभर अहिलेसम्म १ लाख ५६ हजार मानिसहरु यो रोगबाट संक्रमित भएको तथ्य पेश गर्दै ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै विश्वका ७५ हजार ९ सय ३७ जना मानिस उपचारपछि घर फर्केको र ७४ हजार ९ सय ९० संक्रमित अवस्थामै रहेको मन्त्री ढकालको भनाइ छ । तर नेपालमा यसको संक्रमण नरहेको उनको भनाइ छ । मन्त्री ढकालले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुबारे राष्ट्रिय सभा बैठकलाई जानकारी दिदै यस्तो बताएका हुन् ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको तयारीबारे जानकारी गराउँदै पहिलो उद्देश्य नेपालभित्र कोरोना प्रवेश गर्न नदिने नै सरकारको उद्देश्यले भएको बताए । पहिलो उद्देश्य नेपालभित्र कोरोना प्रवेश नहोस् भनेर उच्च सावधानी अपनाइरहेका छौं’, मन्त्री ढकालले भने ।राष्ट्रिय सभाका सांसदहरुले नेपाल कोरोना भाइरसको जोखिममा रहेको भन्दै सरकारको तयारीबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिँदै स्वास्थ्यमन्त्री ढकालले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको बताए । ‘हामीसँग करिब १ सय ७० आईसीयू सञ्चालनमा छन् । काठमाडौं उपत्यकाभित्र १ सय २० र काठमाडौं बाहिर १ सय १५ गरी २ सय ३५ आईसीयू तत्कालै व्यवस्था गर्ने काममा हामी जुटिसकेका छौं’, मन्त्री ढकालले भने’, १ सय ५५ वटा आइसोलेटेड बेडहरु अहिले तयारी अवस्थामा छन् ।’
उनले १ सय २९ नाका मध्ये ४३ वटा विन्दुमा स्वास्थ्य डेक्स राखिएको र त्यहाँबाट आउने जाने व्यवस्था मिलाइएको भन्दै सीमा जोडिएका स्थानीय तहहरुलाई सावधानीका लागि २१ बुँदे निर्देशन पठाइसकिएको जानकारी दिए । उनले संक्रमण फैलिएमा सबै अस्पतालमा संक्रमितलाई पठाउनेभन्दा पनि उपत्यकाका निश्चित तीन अस्पताललाई केन्द्रित गरेर प्राथमिकताका साथ उपचार गर्ने योजना रहेको बताए । ‘सबै जिल्लाका सिडिओ र स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएका छौ’, मन्त्री ढकालले भने, ‘अस्पतालमा काम गर्ने म्यानपावर र व्यक्तिहरु जोखिमबाट मुक्त गर्नेगरी काम गर्न पहल गर्नेछौ ।’