२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपाबीचको एकताले भरपर्दो राजनीतिक विकल्प तयार भएकाे बताएका छन् । साथै उनले विकृति र विसंगतिविरुद्ध लडेर एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने दाबी पनि गरेका छन् ।
उनी नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा (संयुक्त) बीचको एकीकरण गर्ने समझदारीपछि उत्साहित देखिएका थापाले एक भिडियो सन्देश जारी गर्दै जनताले बलियो राष्ट्रवादी शक्ति पाएको दाबी गरेका हुन् ।
विगतप्रति पश्चाताप
दुई राप्रपाबीच एकीकृत पार्टी निर्माण गर्ने सहमति जुटे पनि यसको स्थायित्वमाथि आशंका व्याप्त छ । स्वयं पूर्वपञ्चहरू नै अब बन्ने नयाँ पार्टीको भविष्यप्रति विश्वस्त छैनन् । यद्यपि, थापाले घुमाउरो पाराले विगतको कमजोरी स्वीकार्दै कार्यशैली सुधार्ने संकेत गरेका छन् ।
यसअघि दुई राप्रपा एकताको छोटो समयमै ०७३ फागुनमा विभाजित बनेका थिए । उक्त विभाजनमा कमल थापाको कार्यशैली जिम्मेवार रहेकाे आरोप अद्यापि रहँदै आएको छ । थापाले त्यतिबेलाको कमजोरीको जिम्मेवारी ३ वर्षपछि लिएका छन् । यसमा अन्यको पनि भूमिका रहे पनि आफू आरोप–प्रत्यारोप गर्ने पक्षमा यतिबेला नरहेको थापाको भनाइ ।
‘महाधिवेशनको छोटो समयमै यसअघि पार्टीमा आएको विभाजन रोक्न नसक्नुमा म नैतिक रूपमा जिम्मेवार छु,’ थापाले विगतको कमजोरी स्वीकार्दै भिडियो सन्देशमा भनेका छन् ।
थापाले विगतमा भएको पार्टी विभाजनको मूल्य आफ्ना लागि चर्को परेको समेत स्वीकारेका छन् । ‘यसको मूल्य धेरै ठूलो चुकाउनु पर्यो । पार्टी विभाजन किन भयो , कसको कारणले भयो ? अहिले म त्यसबारे चर्चा गर्न चाहन्नँ । आरोप प्रत्यारोप गर्न चाहन्नँ,’ थापाले पार्टी विभाजनको हिसाब प्रस्तुत गर्दै भने ।
थापाले पार्टी एकताका लागि अव्यवहारिक र अस्वभाविक थाहा हुँदाहुँदै पनि केही प्रावधान कायम गरिएको बताए । यद्यपि, यस्ता असंगत प्रावधान महाधिवेशनसम्म कायम हुने उनले जानकारी दिए ।थापाले राप्रपालाई देशको अग्रणी शक्ति बनाउने अभियानमा जुट्न सबै तहका कार्यकर्तालाई आह्वान पनि गरेका छन् । अनलाईन खवरवाट सभार