काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। आइतबार दिउँसो पौने एक घन्टापछि सुरु भएको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर अवरोध गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक बैठक सूचारु गर्नमा सहयोग पुर्याउन अनुरोध गर्दा पनि नेपाली कांग्रेसका सांसदले आ-आफ्नो स्थानमा यथावत रहि अवरोध गरेका थिए।
असयोगका बीच बैठक चल्न नसक्ने भन्दै सभामुखले अब मंगलबार १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन्।
गत बिहीबार र शुक्रबारको बैठकमा पनि कांग्रेसका सांसदहरुले अवरोध गरेका थिए। अवरोध पछि बैठक स्थगित भएको थियो। ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो।
आफ्ना नेतालाई अख्तयार दुरुपयोग आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाएको भन्दै कांग्रेस संसद र सडकमा विरोधमा उत्रिएको छ।
ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो। तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ।