फाईल तस्विर
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभा नजिकै विस्फोट भएको हो।
उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन्। विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्न भएको थियो। पछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा संचालन भइरहेको छ।
अहिले नेकपाका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहेका छन्। विस्फोटमा ठूलो आवाज आएपनि प्रहरीले कस्तो खालको वम विस्फोट गराइएको बारे केही जानकारी दिएको छैन। विस्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको छ।