काठमाडौं : सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण देशभर वर्षा र हिमपात सुरु भएको छ। जम्मुकाश्मिरहुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षाका साथै हिमपात हुने सम्भावना रहेको छ। महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार मौसमको यो प्रणालीले पश्चिममा बुधबार दिउँसोदेखि नै प्रभाव पारेको र बिहीबार बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिए।
‘अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ। यो क्रम पूर्वतिर सरिरहेको छ’, उनले भने, ‘यो अवस्था तीन दिनसम्म कायम रहन सक्नेछ।’हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ। ‘बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा बिहीबार बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौँ आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रगिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छु’, मौसमविद् पौडेल भने।
मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ।आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ।शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए।‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छु’, मौसमविद् पौडेलले भने।