सभामुख तटस्थ नभए भोलि संसदमा मुठभेड हुनसक्छ : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिएका छन्।

बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरूको लागि चित्त बुझ्दो नभएको पनि गुनासो पोखे।

साक्षात्कारमा बोल्दै सांसद थापाले भने, ‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ। सभामुख सदनमा आउनुपूर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न। र रहँदैन भन्ने कुरालाई सधैंभरी हामीले अपेक्षा गर्दछौं। तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भूमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाइरहेका छैनौं।’

साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक विधेयक भएको उल्लेख गरे ।

थापाले भने,‘जुन विधेयक अनसनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ। त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो।’

सभामुख महराको भूमिकालाई लिएर आक्रोशित थापाले अघि थपे,‘यो विषयमा संसदको पनि प्रश्न रहँदै गर्दा यो बेलामा, यतिखेर सम्मानीय सभामुखको भूमिका त विवेकपूर्ण ढंगबाट, किन हामीले देखेका छौं नि । सभामुखको भूमिका भनेको त, जिम्मेवारी भनेको त त्यो ठाउँबाट त पर्दा पछाडिबाट पनि भूमिका निर्वाह गरेर यो विधेयक सदनमा पनि सम्झौता भएर आएको छ। यसमा सम्झौता खोज्नको निम्ति मैले पनि पहलकदमी गर्नुपर्छ भन्ने ठाउँमा सम्पूर्ण रूपमा एक खालको रुझान राखेर, जुन खालको भूमिका निर्वाह गरिएको हो। यो स्वीकार्य छैन। यो अस्वीकार्य छ।’

भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरूलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरूको रहेको पनि थापाले सुनाए। उनले थपे,‘अस्तिको घटना जुन संसदभित्र भएको छ, त्यो भएको घटनाप्रति उहाँले सदनभित्रका अमर्यादित घटनालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ । सरकारले पनि हामीसँग छलफल गर्छ । एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझै पनि अपेक्षा छ ।


सेतोपाटी वाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार