राष्ट्रसंघमा सहभागी भएर फर्कंदै प्रधानमन्त्री

न्युयोर्क : राष्ट्र संघीय महासभाको उच्चतम बहस सदस्य मुलुकको राष्ट्र एवं सरकार प्रमुखदेखि उच्चस्तरीय प्रतिनिधिले आफ्ना धारणा राखेर सम्पन्न भएको छ। ७५ मुलुकका कार्यकारी प्रमुख र ६६ मुलुकका मन्त्रीस्तरीय र अन्यका प्रतिनिधि सहभागी भएको ७३औं महासभा अर्थात अन्तर्राष्ट्रिय जम्बो मेलामा हरेक वर्ष आफ्नो मुलुकको धारणा राख्ने र बहस गर्ने गरिन्छ।

उच्चस्तरीय बहसको पहिलो दिन विश्व राजनीतिमा प्रभाव राख्ने नेताले बोल्ने प्रचलन छ। दोस्रो दिनदेखि हलमा उपस्थिति घट्दै जानेछ। कैयन कुर्सीहरू खाली देखिनेछन्। तर भाषण नियमित चलिरहेकै हुन्छ।

एक दुई नेताको भाषण साच्चै अर्थ राख्ने भए पनि अन्यको भाषण हाम्रो संसद्मा नेताहरूले बोलेर रेकर्डमा राखे झै मात्र हो।

हरेक वर्ष सेप्टेम्बर तेस्रो मंगलबार संयुक्त राष्ट्रसंघको महासभा आरम्भ हुन्छ भने चौथो मंगलबारदेखि एक साता उच्चतम बहस हुन्छ। त्यसपछि उच्चस्तरीय सेसन तीन महिना चल्छ। विश्वका करिब डेढ सय राजनीतिक नेताहरू नै भेला हुने यो नियमित मेलामा स्थायी सरकार अर्थात कर्मचारीको उपस्थितिमा आफ्ना धारणा राख्ने थलोका रूपमा विकसित भइसकेको छ।

विकसित मुलुकहरू भने पहिलोबाहेक अन्य दिनका सत्रलाई खासै चासो राख्दैनन्। विकसित र शक्ति मुलुकहरूले आफ्नो एजेण्डा प्रस्तुत गर्ने थलोको रुपमा यसलाई विकसित गरेका हुन्छन भने अन्यले उपस्थितिलाई नै महत्व दिएका हुन्छन्।

विश्व राजनीति प्रभाव राख्ने शक्ति मुलुकहरू पहिलो दिनमा नै आफ्नो धारणा राखेर विश्वलाई प्रभावमा पार्छन्। त्यसपछिका दिन उनीहरूका लागि साइडलाइन भेटघाट गर्ने र आफ्ना चासोका विषयमा राख्नेमा नै केन्द्रित हुने गर्छ। नेपालजस्ता अल्पविकसित मुलुकका लागि यो स्थान अवसर झैं रहेको भएपनि अन्तर्राष्ट्रिय क्षेत्रमा होइन मुलुक भित्रकालाई मैले अन्तर्राष्ट्रिय मञ्चमा गएर यो बोले भनेर देखाउने थलो झै भएको छ।

एउटा नियमित मन माझ्ने थलोका रुपमा विकसित र प्रभाव हिन झै बन्दै गएको राष्ट्रसंघमा नेपालले पनि वर्षमा एक पटक मन माझ्ने गरेको छ। अझ नयाँ बनेका प्रधानमन्त्रीका लागि यो ठूलो अवसर झैं बनाइएको छ। अहिले त बलियो सरकार बनेको र त्यो सन्देश विश्वभर फैलाउन नै यो मञ्च उपयुक्त रहेको धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसकेका छन्। हो, यस्ता मञ्चमा गरिने भाषणले विश्वमा तरंग ल्याउँछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार