डा. केसीसँगकाे सहमति हल्लामात्र

काठमाडौं- सरकार र डा केसी पक्षबीच सिंहदरबारमा भएको वार्ताले अनौपचारिक सहमति गरे पनि डा गोविन्द केसीले आफ्नो मागको मुख्य विषयमा नै सहमति नभएको भन्दै उक्त विषयमा कुरा मिलेपछि मात्र आफूलाई मान्य हुने बताएका छन्।

७ बुँदे मागमध्ये सबैभन्दा प्रमुख माग संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको थियो। विधेयकमा डा केसीले २२ बुँदामा संशोधन गर्नुपर्ने माग राखेको थिए। उक्त २२ बुँदामध्ये सबैभन्दा प्रमुख काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने व्यवस्था राख्नु पर्ने थियो।

तर, सिंहदरबारमा भएको छलफलले उक्त विषयमा सहमति गर्न सकेको थिएन। डा केसीले विधेयकमा उक्त कुरा समावेश नगरी सहमति नहुने बताएका छन्। डा केसीले सहमति गर्न नमानेपछि दुई पक्षबीच फेरि बालुवाटारमा वार्ता हुने भएको छ।

डा केसीले विधेयकमा उक्त कुरा राख्ने विषयमा सरकारले राजी भए मात्र सहमति हुने बताएका छन्। उनले सहमति नभएसम्म अनसन नतोड्ने पनि बताएका छन्।

सिंहदरबामा दुई पक्षबीच भएको वार्तामा डा केसीका मागका अन्य विषयमा भने लगभग सहमति भएको छ। तर, मुल विषय नै विधेयकमा नपर्ने भएको भन्दै डा केसीले सहमति गर्न नमानेका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए। यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार