काठमाडौं : न्याय परिषदका सचिवले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकारी गराउँदै पत्र पठाएका छन् । न्याय परिषदका सचिव नृपध्वज निरौलाले बुधबार दिउँसो पराजुलीका नाममा एक पत्र पठाउँदै उनी प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराएका हुन् ।
न्याय परिषद्का सचिवले लेखेको पत्रमा उमेरका आधारमा पराजुलीले अवकास पाइसकेको उल्लेख गरिएको छ । ‘न्याय परिषद् ऐन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रावधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४/११/३० को च न ४२४/०७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/४/२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४/११ /३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु ।’