फागुन ३० सम्मको संघीय संसदको कार्यसूचि तयार, २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौ– संसद सचिवालयले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग संयुक्त छलफलमार्फत आगामी फागुन ३० गतेसम्मको संसदको कार्यसूचि तयार गरेको छ । आइतबार राष्ट्रिय मान्यताप्राप्त पाँच दलका नेताहरुसँग छलफल गरेर सचिवालयले कार्यसूचि तय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दलहरुसँगको छलफलबाट आगामी फागुन ३० गतेसम्मको कार्यसूचि तयार पारिएको बताए ।संघीय संसदले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार २६ गते प्रतिनिधिसभाको सभामुख, २७ गते प्रधानमन्त्रीको विश्वासको मत र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्ने कार्यतालिकामा सहमति गरिएको सत्तारुढ एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए ।

२९ गते निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । भोली सोमबार संघीय संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको मितिले १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । त्यसैगरी सरकार गठन भएको मितिले १ महिना भित्र संसदमा प्रधानमन्त्रीले विश्वासको लिईसक्नुपर्ने हुन्छ ।

सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई अन्तरिम रुप पनि दिएको छ । भोली संसदको पहिलो बैठकले पारित गर्नेगरी अन्तरिम कार्यविधिलाई अन्तिम रुप दिइएको सत्तारुढ माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले नेता महेन्द्र राय यादवको उमेर विवादमा परेका कारण प्रतिनिधिसभाका दोस्रो जेष्ठ सदस्य महन्त ठाकुरलाई प्रतिनिधिसभाका सांसदहरुलाई सपथ गराउन उपयुक्त हुने सुझाव दिएको थियो ।

त्यसैगरी बैठकमा पार्टीका प्रतिनिधिसभाका सदस्य रेशमलाल चौंधरीलाई सुरक्षित ढंगले सपथग्रहण र संसदको कार्वाहीमा भाग लिने व्यवस्था गर्न पनि पुनः आग्रह गरिएको नेता वृशेषचन्द्र लालले जानकारी दिए ।कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचन राष्ट्रिय जनता पार्टी, नेपालका सांसद चौधरी कैलाली घटनाको हत्या आरोपमा कारगार चलान भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार