
माघ १६, २०७४–राजनीतिक शुद्धीकरणका लागि भन्दै नेपाली कंग्रेसका केन्द्रीय नेताहरुले आज काठमाडौंमा बटुवाको जुत्तामा पालिस गरेका छन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर राजनीतिक शुद्धीकरण अभियानको प्रारम्भ गरेका हुन् । सो क्रममा कंग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बटुवाको जुत्तामा पालिस लगाएका थिए । जुत्ता पालिस गरि सफा गर्नुलाई राजनीतिक विसंगतिको सफाइका रुपमा बुझ्न नेताहरुले आग्रह गरेका थिए । पालिस गराउने दुई दर्जन बढी व्यक्तिहरुबाट झन्डै ३१ हजार रुपैयाँ संकलन भएको र सो रकम प्रतिष्ठानका लागि हस्तान्तरण गरिने उनीहरुको भनाई छ । कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यका साथै किसुनजीको सिद्धान्त प्रचारमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ । कंग्रेस नेता भण्डारीले अन्य देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन सो अभियान थालिएको बताउनुभयो । जुत्तामा पालिस लगाउन मानवअधिकारवादी, कंग्रेस कार्यकर्ता, राजनीतिक व्यक्तित्वदेखि सर्वसाधारण पनि सहभागी भएका थिए ।