वामपन्थी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले असोज २९ गते बुझाएको समानुपातिकतर्फको उमेदवारको बन्द सूची वास्तविक सूची नभएर केवल डमी सूचीमात्र बन्न पुगेको छ । यो सूची डमीमात्र बन्नमा धेरैको नाम सिफारिस भएको बाहेक अर्को ठूलो रहस्य रहेको एमालेका एक उच्च सुत्रले जानकारी गराएको छ।
एमालेले उमेदवारको टुंगो लगाउन आइतबार बिहान आठबजे अध्यक्ष ओलीको निवास बालकोटमा स्थायी कमिटीको बैठक बोलाएको थियो । सो बैठक भैसेपाटीमा पनि शुक्रवार बेलुका बसेको थियो, तर तोकिएको भन्दा आठ गुणा बढीसम्म नाम आएको कारण आइतबार विहान फेरि बस्नेगरी बैठक सारिएको थियो । आइतबार बिहानै उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका कारण बैठक दुई तीन घन्टा पर धकेलियो । अन्ततः बैठक बसेपनि ६ करोड कता गयो भन्ने मुद्दा उठेकाले निर्णयभन्दा बढी खैलाबैला भएको कुरा स्रोतले जनाएको छ ।
बिहान ८ बजे बोलाइएको बैठक मध्याह्न १२ बजे सुरू भयो । बैठक बसेर सूची टुंग्याउनैपर्ने भएपछि प्रदेश प्रमुखहरूले नाम सर्टिङ गरेर ल्याएका थिए । तर, बैठकको सुरूवातमै वरिष्ठ नेता माधव कुमार नेपालले ‘ पार्टीको नाममा सहयोग आएको ६ करोड खै ?’ भनेपछि बैठकमा विषय मोडिएको मात्र हैन पुरै खैलाबैला नै भयो ।
स्रोतका अनुसार केही सयमअघि एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले एमालेलाई ६ करोड सहयोग बुझाएका थिए । तर त्यो पैसा शनिबारसम्म पनि पार्टीको खातामा जम्मा नभएपछि नेता नेपालले सबैको अगाडि सो प्रसंग निकालेका थिए । यो कुरा उठेपछि बैठक अर्कै विषयमा मोडिएको थियो ।अध्यक्ष ओलीले यो विषय यहाँ नउठाउँ भनेर टार्ने प्रयत्न गरे पनि नेता नेपालले ६ करोडको फेहरिस्त मागिरहे ।भेटिएला त ६ करोड ?
स्रोतकाअनुसार सो सहयोग रकममध्ये दुई करोड पार्टी पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री युवराज कार्कीले र दुई करोड पूर्वमन्त्री महेश बस्नेतले लगेको जवाफ दिए पनि अध्यक्ष ओलीले त्यसबाहेकको दुई करोड यहाँ छ भन्न सकेनन् । बरु बारम्बार यो विषय पछि उठाउँ, अहिले समानुपातिकको सूची टुंग्याउँ भन्दै पन्छाउन खोजे ।तीन घन्टा बढी गलफती गरे पनि ६ करोड काण्ड नसुल्झिएपछि एमाले बैठक समानुपातिकको सूची टुंग्याउने विषयतिर त अघि बढ्यो । तर, समय घर्किसकेको थियो ।बैठकका उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अन्तिम समयसम्म पनि नामावली टुंगाउन नसकेको भन्दै बैठकमा आलोचना गरेका थिए । पछि सच्याउने गरी तत्काललाई प्रदेश प्रमुखले टिपाएका नाम समेटेर एमालेले सूची बुझायो आइतबार । भुसालसहित नेता नेपाल पक्षधरहरूले संस्थागत छलफल हुने छाडेको र समानुपातिक उमेदवारजस्तो विषय पनि गुपचुप राखिएको भन्दै असन्तुष्टि पोखेका थिए ।(श्रोत साभार -वाह्रखरी)