यी हुन् अमेरिकी दूतावासको ‘भेटिङ’ सूचीमा परेका प्रहरी अधिकारी र कार्यालय

काठमाडौं– प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले कहाँ, कहिले र कसरी गम्भीर मानव अधिकार उलंघन (भेटिङ) गरे उल्लेख छैन। तर उनी अमेरिकी दूतावासको ‘भेटिङ’ लिस्टमा छन्। यस्तै अवस्था प्रहरी वरिष्ठ उपरीक्षक हरिबहादुर पालको पनि छ। उनको भेटिङ फुकुवाको पत्र गत वर्ष अमेरिकी दूतावासमा प्रेषित भए पनि प्रतीक्षा सकिएको छैन।

नेपाल प्रहरीले २०७२ माघ यता डिआइजी पुडासैनीको भेटिङ फुकुवाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको छ, ताकेता गरिरहेको छ। यस्तै, जनआन्दोलन २०६२÷०६३ दबाउन बाँकेमा २०६३ चैत्र २ मा अत्यधिक बल प्रयोग गरेको निवेदनपछि भेटिङमा राखिएका प्रहरी उपरीक्षक बसन्तकुमार लामाको घटनाको करिब १० वर्षपछि फुकुवाका लागि दूतावास पठाएको पत्रको जवाफ आएको छैन। प्रहरी प्रधान कार्यालयले २०७२ जेठ २० मा लामाको भेटिङ फुकुवाका लागि पत्राचार गरेको थियो।

अमेरिकाको ‘डिपार्टमेन्ट अफ जस्टिस’ले विश्वभर गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न व्यक्ति र संस्थालाई निवेदन, प्रकाशित–प्रसारित समाचार र दूतावासको जानकारीका आधारमा भेटिङको सूचीमा राख्ने गर्छ। सुरक्षाकर्मीबाट हुने गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आरोपी बनाइएका अधिकारीलाई मानव अधिकार उल्लंघन कर्ताको सूचीमा राख्ने प्रक्रिया नै भेटिङ हो।

तावास मार्फत भेटिङमा पर्ने सुरक्षा अधिकारीले शान्ति सेनामा सहभागी हुन पाउँदैनन् भने अमेरिकाको भिसा पाउन समेत मुस्किल हुन्छ। त्यसैले सुरक्षा अधिकारीको विदेश वृत्ति विकासका लागि भेटिङ वाधक बन्दै आएको छ।

प्रहरी प्रधान कार्यालयको चलानी नम्बर ३२१ र ३३५ मा २०७१ पुस २९ र माघ १३ मा प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरको भेटिङ फुकुवाका लागि गृहको मानव अधिकार महाशाखामा पत्र लेखे पनि जवाफ आएको छैन। प्रहरी उपरीक्षक अशोक सिंहको भेटिङ फुकुवाको पत्र २०७१ साउन १५ मा प्रेषित भएको थियो। जवाफ आउन बाँकी हुँदै सिंह भने अमेरिकामा रहेका आफन्त भेटेर गत वर्ष फर्किएका छन्।

प्रहरी प्रधान कार्यालयले भेटिङमा परेका प्रहरी अधिकारी र प्रहरी युनिटको भेटिङ फुकुवाका लागि गृह मार्फत र सोझै अमेरिकी दूतावासमा अनुरोध गरे बाहेक हाल थप ४३ प्रहरी अधिकारीको विषयमा छलफल जारी छ।

नेपाल प्रहरीका अर्का डिआइजी उत्तम कार्की, वरिष्ठ उपरीक्षक प्रकाशजंग कार्की र उपरीक्षक श्यामलाल ज्ञवालीसहित ४३ जना अधिकारी अहिले भेटिङका कारण अन्तर्राष्ट्रिय वृत्ति विकासको अवसरबाट वञ्चित छन्। उनीहरु ढुक्कले विदेश भ्रमणमा जाने अवस्था समेत छैन।

प्रहरी प्रधान कार्यालयका अनुसार सुरुमा भेटिङबारे कुनै जानकारी नहुने भएकाले कति प्रहरी अधिकारी भेटिङमा परेका छन् भन्ने यकिन तथ्यांक हुँदैन। विदेश तालिम र संयुक्त राष्ट्र संघ शान्ति मिसनमा जाने बेलामा विभिन्न दूतावासले भिसा नदिएपछि मात्र भेटिङमा परेको जानकारी हुन्छ।

प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले भेटिङ फुकुवाका लागि अपराध अनुसन्धान विभाग मार्फत पत्राचार गरिरहेको बताए।

उनले भने, ‘विभाग मार्फत भेटिङमा परेका प्रहरी अधिकारी र इकाइका विषयमा छानबिन गर्ने र सोही अनुसार सम्बन्धित निकायमा पत्राचार गर्ने काम भइरहेको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार